सिमा भन्छिन्, ‘म एसिड-फाइटर हुँ, एसिड-पीडित होइन।’


वसन्तपुरको एउटा क्याफे। क्याफेबाट देखिन्छन्, भूकम्पले भत्काएका ऐतिहासिक मन्दिरहरू। यही वसन्तपुर हो, जहाँ १० फागुन २०७१ मा सीमा बस्नेतको जीवनमा एउटा इतिहास थपियो।

एसएलसी परीक्षाको तयारीमा थिइन् सीमा। कोठामा ट्युसन पढ्न जम्मा भएका थिए, उनीसहित केही विद्यार्थी। हजुरबुवा-हजुरआमासँग वसन्तपुरमा बस्दै आएकी सीमा बिहानै पानी भरेर ट्युसन पढ्न पुगेकी थिइन्। ‘सर आउनुभएको थिएन’ उनले भनिन्, ‘संगीता, हिमा र म पहिलो बेन्चमा बसेर हिसाब गर्दै थियौं।’

त्यसदिन एक्कासि जोडसँग खुलेको ढोकाको आवाज याद छ, उनलाई। त्यसैदिन उनको अनुहारमा एकाएक छ्यापिएको एसिड र असह्य पीडा पनि याद छ।

‘म आत्तिएर रुँदै बाहिर दौडिएँ,’ सीमाले त्यो दिन सम्झिइन्, ‘नजिकै पानी भरिरहेका आन्टीहरूसँग पानी…पानी… भनेछु। चिनेका आन्टीहरू हुनुहुन्थ्यो। मैले मुखमा निकैबेर पानी छ्यापेँ तर पोल्न छोडेन।’ एकछिनपछि सीमाकी हजुरआमाले ट्याक्सीमा उनलाई वीर अस्पताल पुर्‍याइन्। अस्पताल पुगेपछि मात्रै उनले थाहा पाइन् कि साथी संगीता पुलामीमगर पनि उनीसँगै आक्रमणमा परेकी रहिछिन्। अस्पतालको बेडबाटै एसएलसी दिए दुवैले। पास पनि भए। अहिले उनी आरआर क्याम्पसमा बीए पहिलो वर्ष पढ्दैछिन्।

त्यस दिनको सम्झनाले मात्रै पनि सीमाको शरीर फतक्कै गल्छ। एकैछिनमा आँसु बगिहाल्छ। बोल्दाबोल्दै कहिले सलले मुख छोप्छिन्, कहिले टोलाउँछिन्। त्यसो त एसिड-आक्रमणले उनको आत्मबललाई बलियो पनि बनाएको छ। भन्छिन्, ‘म एसिड-फाइटर हुँ, एसिड-पीडित होइन।’

त्यो दाग, यो दाग

भनिन्छ, मान्छेले सबैभन्दा धेरै हेर्ने चिज ऐना हो। किनभने ऐनामा आफैंलाई हेर्ने अवसर पाइन्छ। सीमालाई भने ऐनाले रुवाउँछ। किनभने ऐनाले त्यो दिन एसिडले बनाएको दाग मात्रै देखाउँदैन, हरेक दिन मनमा पर्ने दाग पनि सँगै देखाइदिन्छ।

सीमालाई त्यो दिनको सम्झना अब सह्य छैन। तर, त्यही दिन हो, जसले उनको जिन्दगीको बाँकी अध्याय नै बदलिदियो। कलेज होस् वा अन्त कतै गएका बेला, उनीसँग कुराकानी गर्न अघि सरेर कोही आउँदैन। उनैले बोलाउनुपर्छ। भन्छिन्, ‘मेरो के दोष थियो ! मानिसहरू मेरै कमजोरी छ जस्तो गर्छन्।’

सिड- आक्रमणपछि सीमाको आत्मबल बलियो भएको छ। भन्छिन्, ‘म एसिड-फाइटर हुँ, एसिड-पीडित होइन।’

जे भुल्न खोज्यो, त्यही सम्झाउँछन् मानिसहरू। भन्छिन्, ‘जहाँ पनि आफैं अघि सरेर बोल्नुपर्दा नमीठो लाग्छ। म एसिडको पीडा भुल्न चाहन्छु, तर मानिसको व्यवहारले सम्झाइदिइहाल्छ।’ आक्रोश पोख्छिन्, ‘अनुहारमा एसिडको दाग भएकै कारण म अरूभन्दा फरक हुँ जस्तो व्यवहार किन गर्छ यो समाज ? ’

सीमालाई एसिड छ्याप्ने अपराधी जेलमा छ। तर सीमाले पाएको मानसिक-शारीरिक आघातको दाग दिनदिनै बल्झिन छाडेको छैन। वीर अस्पतालमा उपचार भइरहेकै बेला उनलाई अनेकथरी आश्वासन आए। सामान्य उपचार त तत्कालै सुरु भएको थियो, तर अप्रेसन गर्ने पैसा थिएन। ‘मिडियाहरू आउँथे, के-के सोध्थे, तर सहयोग कसैले गरेको थिएन,’ उनले भनिन्। त्यसो त एनजीओ, आईएनजीओका धेरै प्रतिनिधिले पनि आफ्ना भिजिटिङ कार्ड छाडेर गएका थिए। भनेका थिए, ‘केही सहयोग चाहियो भने सम्पर्क गर्नु !’ भिजिटिङ कार्ड र मोबाइल नम्बर छाड्नेहरूका नम्बरमा फोन पनि गरिन्। तर, आश्वासन दिनेहरूले सहयोग गरेनन्।

अप्रेसनका लागि एक लाख रुपैयाँ खर्च लाग्छ, भनिएको थियो। ‘डाक्टर आफैं भन्न सक्दैनथे, त्यसैले नर्सलाई भन्न लगाउथे’ भावुक हुँदै उनले सुनाइन्, ‘एक लाख कस्तो हुन्छ भन्ने पनि थाहा थिएन मलाई।’ प्रत्यक्ष केही नभने पनि उपचारमा बेवास्ता गरिएको महसुस भएको थियो उनलाई।

सीमाले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नाममा एउटा खुला चिठी लेखिन्। चिठीले अस्पतालको मुड बदल्यो। त्यसपछि मात्रै उनको अप्रेसन भयो, निःशुल्क। उपचार त भयो, तर दागले ऐनाबाट मात्र होइन, समाजका अनेक कुनाबाट चियाउन छाडेको छैन।

विशेषणले छोपेको नाम

भन्न त उनी आफूलाई एसिड-फाइटर भन्छिन्। तर, सबैले उनलाई एसिड-पीडित भनिदिन्छन्। एउटा विद्यार्थी संगठनको सदस्य पनि छिन् उनी। विभिन्न संघसंस्थाका कार्यक्रममा पनि डाकिन्छ। जुनै कार्यक्रममा पुगे पनि ‘एसिड-पीडित’ विशेषणले बोलाइँदा उनलाई नमीठो लाग्छ।

भन्छिन्, ‘सानोमा गाउँघरमा पनि यो त टुहुरी हो भन्थे। अचेत एसिड-पीडित सीमा भन्छन्।’ टुहुरी भनेको सुन्दा त्यसैबेलादेखि रिस उठ्थ्यो, अहिले एसिड-पीडित भनेको सुन्दा चित्त दुख्छ। एउटा न एउटा नमीठो विशेषणले पिछा छाडेको छैन, उनलाई।

रौतहटको बागमतीमा १९ वर्षअगाडि जन्मिएकी सीमा जन्मँदा नै बाबुको मायाबाट वञ्चित भइसकेकी थिइन्। अहिलेसम्म पनि उनले बुवालाई देखेकी छैनन्। ‘बुवा कस्ता थिए होलान् ? मलाई किन भेट्न नआएको होला ? भन्ने लाग्थ्यो कहिलेकाहीँ’ उनी भावनामा बग्छिन्। आमाको माया पनि उनको भाग्यमा थिएन।

टुहुरो हुनुको अर्थ अलि बेग्लै किसिमले लाग्छ सीमाको जीवनमा। उनी गर्भमा छँदै बुबा कतै छुटिसकेका थिए। ‘बुवासँग झगडा भएपछि आमा माइती आएर बसेकी थिइन्,’ उनले त्यो कथा फुकाइन्, ‘बागमतीको बगरमा ढुंगा कुटेर, दुःखजिलो गरेरै आमाले मलाई जन्माइन्। तर म ६ महिनाकी हुँदा आमाले पनि अर्को बिहे गरेर गइन्।’

आमाको बात्सल्य पनि गुमेपछि उनलाई मामाघरकी हजुरआमाले हुर्काइन्। अनि हजुरबुवा भए उनका कर्म दिने बुवा र हजुरआमा भइन् आमा। नागरिकता बनाउने बेला यही नयाँ नाताले वैधानिकता पायो। ‘नागरिकता बनाउने बेला अत्यन्त अप्ठ्यारो भयो’ उनले रहस्य खोलिन्, ‘बुवा त चिनेकै थिइनँ, आमाले पनि माया मारिसकेकी थिइन्। हजुरबुवा, हजुरआमाले मामाघरकै थरमा आफ्नै छोरी भनेर नागरिकता बनाइदिनुभो।’

नागरिकताले उनलाई टुहुरी बनाएको छैन, जन्मदिने बाबुआमा पनि जिउँदै छन्, तर उनी विशेषणले छोपिएकी एक नाम भइरहिन्।

उडानको खोजी

मामाघरको आर्थिक अवस्था पनि राम्रो थिएन। गाउँकै सरकारी स्कुलमा उनी पढ्दै थिइन्। हजुरबा-हजुरआमाले नै उनलाई काठमाडौं लिएर आए। वसन्तपुरमा हुर्किन् उनी।

उमेरले परिपक्वता भरिसकेको छैन, तर यही उमेरमा परिपक्व हुनुपर्ने जिम्मेवारी छ। ७० पुग्न लागेका हजुरबुवा अहिलेसम्म सुन पसलमा सेक्यिुरिटी गार्डको काम गरिरहेकै छन्। उनी जिम्मेवारीबोध गर्दै भन्छिन्, ‘उहाँले रातदिन दुःख गरेर मलाई पाल्नुभो, हुर्काउनुभो, अब बुवालाई पालो दिने मन छ।’

केही महिना भो, जागिरको खोजीमा उनी भौंतारिइरहेकी छिन्। अहिलेसम्म कुनै सम्भावना देखिएको छैन। भन्छिन्, ‘आफन्तले गरिदेलान् भन्न पनि कोही छैनन्। एसिडको दाग बोकेर आत्मविश्वास जोगाइराख्न आफूलाई पनि गाह्रो हुँदोरहेछ।’ आश्वासन दिनेहरूलाई फोन गर्दैमा हिजोआज दिन बित्छ उनको। गर्दिन कसैले भन्दैन, सहयोग गर्न अघि सर्ने पनि कोही भेटिएन।

घरी धकाउँदै, कहिले दह्रो पाइला टेक्दै उनले हिँड्न छाड्की छैनन्। उडानकै खोजीमा उनी केही महिनाअघि दिल्ली पनि पुगेर आइन्। त्यहाँ पुगेपछि उनको आत्मविश्वासले साँच्चै उडान लियो।

त्यही यात्रामा उनले भेटेकी अद्भुत पात्र थिइन्- रानी रीतुपर्ण शा। एसिड आक्रमणपछि रानी आठ वर्षसम्म त कोमामै थिइन्। त्यति लामो कोमाबाट पुनर्जीवन पाएकी रानीले भारतमा उदाहरणीय जीवन जिएर देखाइदिएकी थिइन्। एउटा आँखा र पूरै अनुहार जलेकी रानीले सीमाका आँखामा उडानको नयाँ सपना हालिदिइन्।

सामाजिक सञ्जालमार्फत भारतका एसिड पीडित साथीहरूसँग सम्पर्क बढाएकी थिइन्, उनले। त्यही क्रममा उनी एसिड भिक्टिम सोसाइटीको सम्पर्कमा पुगिन्। एसिड भिक्टिमहरूको ब्युटी पेजेन्ट हुन लागेको रहेछ, उनलाई पनि निम्ता आयो। जाउँ कि नजाउँ दोधार भएको थियो, आत्मविश्वासले जित्यो। उनी एक्लै दिल्ली पुगिन्।

दिल्ली पुगेपछि उनले भारतका एसिड भिक्टिम साथीहरूसँग भेट्ने अवसर पाइन्। त्यहाँको दृश्य देखेपछि उनको पीडा स्वतः कम भयो। उनले सुनाइन्, ‘ओ माई गड ! कस्तो कस्तो अवस्थामा युवतीहरू आत्मविश्वासपूर्वक बाँचेका, काम गरिरहेका। कसैको सबै अनुहार नै डढेको छ, कसैको आँखा जलेको छ, कसैको पूरै शरीर नै जलाइएको छ, कसैको हातले कामै नगर्ने, एकएक दृश्य देखेर म छक्क परेँ।’

त्यस्तो अवस्थामा पनि इज्जतका साथ बाँचेर, काम गरेर देखाइदिने उनीहरूको आत्मविश्वासले सीमालाई आफूहरूको पीडा साह्रै सानो लाग्यो। ‘खासगरी रानीको बाँच्ने तरिका र आत्मविश्वासले मलाई नयाँ ऊर्जा दियो’ उनले अगाडि थपिन्, ‘तर त्यहाँको सरकारले एसिड भिक्टिमहरूलाई निकै सहयोग गरेको रहेछ।’

एसिड-फाइटरहरूलाई भारतमा सरकारी तवरमा गरिएको सहयोग, उपलब्ध गराइएको रोजगारीलगायतले सीमाको मनमा नेपालमा चाहिँ त्यस्तो किन नभएको होला भन्ने प्रश्न उब्जिएको छ। भन्छिन्, ‘अरू केही नगरे पनि सरकारले पढ्न सुविधा दिए हुन्थ्यो, रोजगारीका लागि तालिम दिए हुन्थ्यो।’ अठोट त छ उनको, ‘म एसिडको पीडा मेटाउने कोसिसमा छु। दाग अनुहारमा लागेको होस् या भाग्यमा मैले जसरी पनि हटाएरै छाड्नु छ। यो मेरो आत्मविश्वासले भनेको कुरा हो।’

राजनीतिशास्त्र र समाजशास्त्र विषय लिएर अध्ययनरत् सीमा बेलाबेला प्रेरणादायी भाषण दिन पनि विभिन्न कार्यक्रममा गइरहन्छिन्। विभिन्न खालका हिंसामा परेका महिला र खासगरी युवतीहरूका लागि काम गर्ने तीव्र चाहना पनि छ उनको। तर कुनै मेलोमेसो मिल्न सकेको छैन। एसिड-फाइटर उडानको खोजीमा छिन्। विडम्बना पखेटा हाल्दिने कोही छैनन्।अन्नपूर्णबाट

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • यहि अप्रिलमा एकता र मित्रताको लागि फुटसल प्रतियोगिता २०७८ इजरायलमा गरिदै !!
  • जन्मदिनको अबसरमा चितवन समाज इजरायले गौतमवुद्ध रङशाला लाई रु ६००६६६ हस्तान्तरण गर्यो
  • ‘पार्टी विधान, नीति र सिद्धान्तको पालना गरे नेकपाको विवाद समाधान हुन्छ’
  • ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ
  • © 2021: शुभ दिन All Rights Reserved. Website by: Shubhadin
    error: कृपया कपि नगर्नुहोला !!