ओली सरकार क्षमताका रुपमा मानिएका नवनियुक्त अर्थमन्त्री खतिवडा को हुन् ?


काठमाडौं,१४ फागुन । केहिदिन अघिदेखी राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडालाई अर्थमन्त्री बन्ने भन्ने हल्ला सत्य सावित हुँदै खतिवडा अर्थमन्त्री भइसकेका छन्।प्रधानमन्त्री ओलीले आज गरेका चार सदस्यीय मन्त्रिपरिषद विस्तारमा खतिवडा अर्थमन्त्री भएका छन्।

अहिले नेपालको अर्थतन्त्र डामाडोल छ । आर्थिक विकासलाई तिब्रता दिने उद्घोष गर्दै आएका प्रधानमन्त्री ओलीलाई अर्थतन्त्रमा भएको डामाडोल स्थितीबाट पार लगाउन योग्य व्यक्ति खोजेको थिए,यसैकारण हुनसक्छ ओलीले आफ्नो मन्त्रिपरिषदमा अर्थमन्त्रीको रुपमा भरपर्दो सारथी खतिवडालाई रोजेका ।

सामान्य राजनीतिक पृष्ठभूमि र अर्थतन्त्र सम्बन्धी खासै ज्ञान नभएका व्यक्तिलाई नै अर्थमन्त्री बनाउने प्रचलन छ । तर अब देशको अर्थतन्त्र सुधारका लागि योग्य र क्षमतावान व्यक्तिलाई अर्थमन्त्रालयको जिम्मा दिनुपर्ने बाध्यात्मक स्थिती भएकाले पनि ओलीले खतिवडालाई अर्थमन्त्री बनाएका एमालेका नेताहरुले बताएका छन् ।

यस्तो छ खतिवडाको पृष्ठभूमि :
डा. युवराज खतिवडाको जन्म विस २०१९ सालमा भएको हो । उनी नेपाल राष्ट्र बैंकको पन्ध्रौं गभर्नर हुन् । उनले यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीका रुपमा पनि काम गरिसकेका छन् ।

खतिवडा वि.सं.२०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसमेत भइसकेका छन् ।

यस अघि उनी नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख भइसकेका थिए । २०३८ मा त्रिभुवन विश्वविद्यालयमा एक स्नातकोत्तर शिक्षक र २०४७ देखि २०४८ सम्म त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा पनि खतिवडाले काम गरिसकेका छन् ।

डा. युवराज खतिवडाले २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री प्राप्त गरेका छन् ।

खतिवडाले राष्ट्र बैंकको गभर्नरको रुपमा के-सुधार गरे ?(हिमालखबर पत्रिकाको फाल्गुण २२, २०७१ को रिपोर्टको केहि अंश)

खतिवडाले राष्ट्र ब्यांकको कमजोर नियामकको छविलाई बलियो नियामकमा रूपान्तरण गरे। वर्षौंंदेखि सुस्त रहेका राष्ट्र ब्यांकका नियमन र सुपरीवेक्षण विभाग सक्रिय र बलिया बने। वित्तीय समावेशीकरण र वित्तीय पहुँच विस्तारलाई मुख्य प्राथमिकता तोकेका गभर्नरको शुरुआत सकारात्मक रह्यो। ब्यांकहरूले बाहिर तीन वटा शाखा विस्तार नगरी काठमाडौंमा शाखा खोल्न बन्देज, दुर्गममा शाखा खोल्नेलाई सुविधा, शाखाविहीन ब्यांकिङमा जोड र गाउँमा कार्यक्षेत्र बनाएका ‘घ’ वर्गका लघुवित्त संस्थालाई अनुमतिपत्र दिने गभर्नर खतिवडाको नीतिले वित्तीय पहुँच विस्तार गरेको छ।

ब्यांक तथा वित्तीय संस्थाले आफ्नो कुल कर्जाको २० प्रतिशत कृषि र जलविद्युत् क्षेत्रमा लगाउनुपर्ने नीतिले पनि सकारात्मक सन्देश दिएको छ। उनले सीमित क्षेत्रमा जाने कर्जा नियन्त्रणका लागि कर्जा सीमा तोकिदिए भने ब्यांक तथा वित्तीय संस्था खोल्ने अनुमतिपत्र पनि बन्द गरिदिए। उनको मर्जर तथा एक्विजिसन नीतिले ब्यांक तथा वित्तीय संस्थाहरूको संख्या त घटायो नै, उनीहरूलाई मजबूत पनि बनायो।

उदार अर्थव्यवस्थाका नाममा वित्तीय क्षेत्रमा जारी स्वेच्छाचारिता रोक्न उनले थालेको प्रयास प्रशंसनीय मानियो, कतिपय ब्यांकरहरूले आलोचना गरे पनि। ब्यांकका सीईओको तलब सुविधामा नियन्त्रणदेखि सीईओ र सञ्चालकको कार्यकाल, स्प्रेडदर तोक्ने जस्ता उनका कठोर निर्णयहरू विवादित पनि बने। कम ब्याजदरमा निक्षेप लिएर कर्जामा बढी ब्याज लिने ब्यांकहरूको अघोषित कार्टेलिङ विरुद्ध पनि उनले कठोर कदम चाले। उनले नियामक निकाय बलियो हुँदा अराजकता मौलाउन पाउँदैन, उदार अर्थतन्त्रको नाममा स्वेच्छाचारी अभ्यास गर्ने छूट कसैलाई छैन भन्ने सन्देश दिए। स्प्रेडदर लगायतका विषयमा त गभर्नर खतिवडाले विश्व ब्यांक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सुझाव समेत अस्वीकार गर्ने आँट गरे।

वाम पृष्ठभूमिका खतिवडाले गभर्नरको रूपमा पाँच वर्षमा पाँचै जना फरक–फरक विचारधाराका अर्थमन्त्रीसँग काम गरे। उनी सबैलाई विश्वासमा लिएर काम गर्न त सफल भए। लगानी विविधीकरण गरेर राष्ट्र ब्यांकको नाफा बढाएको जस पनि जान्छ, गभर्नर खतिवडालाई। पूर्व अर्थसचिव रामेश्वर खनाल सन्तुलित मौद्रिक नीति, वित्तीय नियमन, उत्पादनशील कर्जा, मर्जरमा जोड र आन्तरिक सुधारलाई खतिवडाको सबल पक्ष मान्छन्। गभर्नर रहिसकेका दीपेन्द्रबहादुर क्षेत्री पनि तहसनहसकै चरणमा प्रवेश गर्न लागेको वित्तीय क्षेत्रलाई खतिवडाले सुधारेको मान्छन्।-पानाखबरबाट

फेसबुकबाट कमेन्ट गर्नुहोस |
सम्बन्धित शिर्षकहरु
  • जेसि र प्रमिलालाई मिलाउने काम मुस्कानले गरे। भिडियो केही दिनमा रिलिज हुँदै ।
  • “इजरायलका तिन धार्मिक संस्था द्वारा संयुक्त आयोजनमा श्रीकृष्ण जन्माष्ठमी धुमधामका साथ मनाइदै “
  • विश्व आदिवासी दिवस इजरायलमा मनाइदै,केन्द्रीय अधक्ष्य जगतबहादुरले कार्यक्रमलाइ सम्वोधनगर्ने
  • एनआरएन ए इजरायलको मुख्य आयोजना तथा अन्य करिब २ दर्जन सस्थाहरुको सहआयोजनामा तीज बिशेष कार्यक्रम हुदै
  • © 2018: शुभ दिन All Rights Reserved. Designed by: NetKuti